पोखरामा चिनियाँ लगानी : विवाहले भित्रियो, कोरोनाले बाहिरियो

 पोखरामा चिनियाँ लगानी : विवाहले भित्रियो, कोरोनाले बाहिरियो

पोखरा — एक समय थियो, पोखराको गौरीघाटलाई धेरैले चाइना टाउनकै रूपमा चिन्थे । साइन बोर्डमा चिनियाँ नाम, चिनियाँ मेन्यु र चिनियाँ शैलीकै साजसज्जाले राताम्मे देखिन्थ्यो गौरीघाट । पोखरा झर्ने चिनियाँ पर्यटकको पहिलो पाइला यतैतिर सोझिन्थ्यो । भारतीय र कन्टिनेन्टल परिकारको स्वाद मात्रै पस्किने पोखराको मेन्युमा चिनियाँ स्वादको जबर्जस्त प्रभाव सुरु भएको थियो ।

कोरोना महामारी सुरु भएयता गौरीघाटको रंग पहिलेजस्तो गाढा छैन । चिनियाँ भाषामा न कोही बोलेको सुनिन्छ न त चिनियाँ परिकारको बास्ना बाटोसम्मै आइपुग्छ । गौरीघाटबाट उत्तरपट्टि चिनियाँ लगानीमा खुलेका रेस्टुराँ बन्द छन् । मूलढोकामा ताल्चा ठोकिएका छन् । सटरमा घरधनीको मोबाइल नम्बरसहित रेस्टुराँ भाडामा रहेको सूचना टाँसिएको छ । खुलेका एकाध रेस्टुराँमा पाहुना छैनन् ।

बाराही गल्लीमा रहेको चाइना टाउन रेस्टुरेन्ट एन्ड बार अचेल सुनसान हुन्छ । रेस्टुराँ सञ्चालक होउ सेन तियानले म्यानेजर र कुकको भरमा रेस्टुराँ छाडेका छन् । म्यानेजर ऋषिराज आचार्य दिनभर रेस्टुराँ कुर्छन् । तियान यो रेस्टुराँ बेच्ने योजनामा छन् । तियान उनै हुन्, जसले गौरीघाटमा लान हुवा चिनियाँ रेस्टुराँ खोलेर पोखरामा चिनियाँ स्वाद चखाए ।

भारतको कोलकातास्थित चाइना टाउनबाट काठमाडौं हुँदै पोखरा आएर उनले सन् १९९५ मा लेकसाइडमा लान हुवा रेस्टुराँ खोले । तियानले यो रेस्टुराँ खोलेपछि पोखरामा चिनियाँ खानाका पारखी बढेका थिए । चिनियाँ श्रीमती र परिवारसहित नेपाल आएका उनले सन् २००७ मा उक्त रेस्टुरेन्ट छोरालाई चलाउन दिए । आफूले लेकसाइडमै अर्को रेस्टुराँ चाइना टाउन खोले । चिनियाँ श्रीमतीसँग सम्बन्धविच्छेद गरेर नेपाली बिहे गरे । लेकसाइडमा नेपालीमाझ समेत परिचित लान हुवा रेस्टुराँ हाल ओल्ड लान हुवाको नामबाट तियानका छोराले चलाउँछन् । चिनियाँ पर्यटक नभएको यो बेलामा नेपाली ग्राहकले नै उक्त रेस्टुराँ धानिएको छ । लान हुवासँगै जोडिएको अर्को चिनियाँ लगानीको रेस्टुराँ भने बन्द छ ।

पोखरामा चिनियाँ लगानी भित्र्याउने तियान पहिलो होइनन् । पोखरा–बागलुङ जोड्ने भूपी शेरचन राजमार्ग बनाउन २०४५ मा चिनियाँ ठेकेदार कम्पनीको कामदार भएर आएका उगेन आफ्नो मुलुक फर्किएनन् । मुस्ताङकी कल्पना थकालीलाई बिहे गरेर यतै बसे । पर्यटनमा लेकसाइडले बामे सर्दै गरेको बेला सन् १९९० मा गौतम गेस्ट हाउस एन्ड रेस्टुराँ चलाए । पोखरामा चिनियाँ लगानीको ढोका खोले । चार वर्षअघि उगेनको पोखरामै निधन भयो । लेकसाइडको गौरीघाटमा रहेको उक्त होटल अहिले कल्पनाले नेपालीलाई नै भाडामा दिएकी छन् ।

लेकसाइडमा आफन्तको होटल माछापुच्छ्रे गेस्ट हाउसको व्यवस्थापन सम्हालेका कास्कीकोटका खिम नेपालीको भेट नेपाल घुम्न आएकी चिनियाँ नागरिक लु हाई यानसँग भयो । सन् २००८ मा खिम कार्यरत होटलमै यान बास बस्न आइपुगेकी थिइन् । ट्रेकिङ गाइडसमेत रहेका खिमले उनलाई घोरेपानी–घान्द्रुक पदयात्रामा लगे । फर्किएर फेरि दुई जना एक महिनासँगै भारत घुमे । नेपाल फर्किएर बिहे गर्ने निधो गरे । ६ महिनापछि दुवै जना चीन पुगेर भव्य विवाह गरे । विवाहपछि दुई जनाले विद्युतीय सामग्रीको व्यापार सुरु गरे । चीनबाट २–३ कन्टेनर सामान ल्याएर पोखरामा बिक्री गरे । तर, त्यसबाट सोचेजस्तो आम्दानी भएन ।

सन् २००८ मा पछि चीनले अर्थतन्त्रमा केही उदार नीति ल्यायो । आफ्ना नागरिकलाई विदेश घुम्न सहज बनायो । पोखरामा पनि चिनियाँ पर्यटक फाट्टफुट्ट देखिन थाले । त्यही मेसोमा खिम र यानले होटल खोल्ने निधो गरे । गौरीघाटमै उनीहरूले गिरी गेस्ट हाउस चलाए । यानको सम्पर्कबाट चिनियाँ पर्यटक होटलमा आउन थाले । ४–५ वर्षमा चिनियाँ पर्यटक वृद्धि हुँदै जाँदा यो जोडीको व्यवसाय पनि फस्टायो । व्यवसाय फस्टाएकै बेला उनीहरूले पोखरामा यान चाओ एड्भेन्चर ट्राभल प्रालि पनि चलाए ।

सन् २०१३ मा यो जोडीले लगानी विस्तार गर्दै गिरी गेस्ट हाउसकै अघिल्तिर दाउ फन लाई चिनियाँ रेस्टुराँ खोले । रेस्टुराँमा चीनबाटै सेफ मगाए । त्यतिबेला चिनियाँ सेफलाई मासिक तलब एक लाख २० हजार रुपैयाँ दिएको खिम सम्झन्छन् । ‘चिनियाँ पर्यटकलाई भाषाको समस्या हुने भएकाले चिनियाँ रेस्टुरेन्ट खोज्दै आउँथे,’ उनले भने, ‘पर्यटक संख्या बढ्दै गएकाले सम्भावना देखेरै लगानी गरेको थिएँ ।’ २०७२ को भूकम्पपछि उनले उक्त रेस्टुराँ धान्न सकेनन् । सन् २०१५ को अन्त्यतिर तिनै सेफलाई रेस्टुराँ बेचे । चिनियाँ सेफ लिजा र उनको चिनियाँ केटी साथी मिलेर रेस्टुराँ चलाइरहेका थिए । पोखरामै दुई वर्षअघि कोभिडले केटी साथीको निधन भयो । कोभिड महामारीले चिनियाँ पर्यटक आएनन् । उनी पनि रेस्टुराँ छाडेर भारत पसे । अहिले उक्त रेस्टुराँ बन्द छ । घरधनीले उक्त घर भाडाका लागि खाली रहेको सूचना टाँसेका छन् ।

चिनियाँहरू आएर रेस्टुरेन्ट खोल्ने क्रमको इतिहास लेकसाइडमा लामो छैन । अम्बोट, बाराहीचोक, सेन्टर प्वाइन्टमा चिनियाँ लगानीका रेस्टुराँ खुलेका थिए । पोखरामा व्यवसाय गर्ने चिनियाँ संगठित भएर ०७१ माघमा ओभरसिज चाइनिज एसोसिएसन नामक संस्था नै गठन गरे । संस्थाको तथ्यांकअनुसार पोखरामा ३५ होटल तथा रेस्टुराँमा चिनियाँले लगानी गरेका थिए । एउटामा ३० लाखदेखि डेढ करोड रुपैयाँसम्म लगानी गरेर होटल–रेस्टुराँ चिनियाँले थिए । १७ वटा रेस्टुराँ थिए । होटल, अपार्टमेन्ट, डिपार्टमेन्टल स्टोर, व्यावसायिक कृषिमा पनि चिनियाँको लगानी सुरु भएको थियो । तर कोरोना महामारी सुरु भएपछि भने ९५ प्रतिशतभन्दा बढी व्यवसाय बन्द भएका छन् ।

एसोसिएसनमा महासचिव स्याङ साओ ख्वा स्वयं एक दशकदेखि पोखरामा कृषिमा आबद्ध छन् । उनले पोखरा–२७ रिठ्ठेपानीमा जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरेका छन् । उनको उत्पादन लेकसाइडकै चिनियाँ रेस्टुराँमा खपत हुन्थ्यो । रेस्टुराँको संख्या घट्दै गएपछि उनले फलाउने तरकारी अहिले स्थानीय मन्डीमा बेचिन्छ । कोरोना महामारीमा होटल, रेस्टुराँ चलाउने धेरैजसो चिनियाँले भाडा तिर्न नसकेर छाडेर गएको उनले बताए । ‘केहीले यत्तिकै सामान छाडेर जानुभयो, केहीले सस्तोमा बेच्नुभयो,’ स्पष्ट नेपाली बोल्ने उनले भने, ‘चीन सरकारले नाका खोलेर पर्यटक आए भने कोही फर्किएर फेरि व्यवसाय गर्न इच्छुक छन् ।’ उनका अनुसार रेस्टुराँमा आउने ग्राहक ७० प्रतिशत चिनियाँ नै हुने गर्थे । १५ प्रतिशत नेपाली र १५ प्रतिशत अन्य मुलुकका पर्यटकको हिस्सा हुन्थ्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका चिनियाँ कामदार पनि रेस्टुराँका ग्राहक थिए ।

चिनियाँ रेस्टुराँमा चाहिने धेरै सामान चीनबाटै आउँथ्यो । चिनियाँ परिकारलाई चाहिने मसला, खाद्य पदार्थ चीनबाट मगाउनुपर्थ्यो । साग, चामल, तेल, माछा, मासु यहींको खपत हुन्थ्यो । चिनियाँ पर्यटककै आगमन ठप्प भएपछि चिनियाँ व्यवसायी धमाधम आफ्नो देश फर्किएका हुन् । धेरैजसोले घरधनीलाई नै जिम्मा लगाएर व्यवसाय छाडेका छन् । केहीले घरभाडाबापत दिएको अग्रिम भुक्तानीको माया मारेर हिँडेका छन् । अहिले तीनवटा चिनियाँ लगानीको रेस्टुराँ मात्रै लेकसाइडमा सञ्चालनमा छन् ।

संस्थाका अध्यक्ष चान जियान सङ चिनियाँ सीमा खुल्ने, केरुङ नाका सहज हुने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुनेबित्तिकै चिनियाँ पर्यटक बढ्ने आकलन गर्छन् । ‘पर्यटक आकर्षित गर्न काठमाडौंबाट पोखरा र पोखराबाट लुम्बिनी पुग्ने बाटो स्तरीय बनाउनुपर्छ,’ उनी भन्छन्, ‘यहाँको दृश्य, हावापानी यति राम्रो छ, यहाँका मानिसहरू पनि मिलनसार छन् । यति नजिकैको छिमेकीबाट पर्यटक आउन लालायित छन् ।’

चिनियाँ व्यवसायीले गैरकानुनी रूपमा पर्यटनमा लगानी गरेको आरोप लाग्ने गरेको छ । चिनियाँ लगानी अपारदर्शी र शंकास्पद हुने पोखराका व्यवसायीबीच चर्चा चल्छ । लेकसाइडकै एक व्यवसायीका अनुसार नेपाल आउने चिनियाँ पर्यटकले चीनकै अनलाइन भुक्तानी सेवा प्रणाली वीच्याट, अलि पेबाट कारोबार गर्छन् ।

उक्त खर्च नेपालमा नदेखिँदा चिनियाँ व्यवसायीले तिर्नुपर्ने कर थोरै हुन्छ । केही चिनियाँ व्यवसायीले अनलाइनबाटै मुद्रा सटहीको काम गर्छन् । व्यवसायीले चीन–नेपाल आउजाउ गर्ने पर्यटकलाई पैसा साटिदिने र त्यससबापत कमिसन लिने गर्छन् । ‘यसलाई राष्ट्र बैंक र सरकारले नै कडाइ गर्नुपर्छ,’ ती व्यवसायीले भने, ‘अहिले चिनियाँ पर्यटक छैनन् । पछि आउलान् । त्यतिबेलासम्म यस्तो कार्यमा नियमन गरिएन भने कर छली भइरहन्छ ।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पोखरामा सानाभन्दा ठूला लगानी भित्र्याउनु आवश्यक देख्छन् । कोरोनाअघि चार/पाँच तारे होटल चलाउने जग्गा खोज्न चिनियाँ व्यवसायी पोखरा आएको उनलाई सम्झना छ । कोरोना महामारी सुरु भएपछि भने भएकै होटल, रेस्टुराँ छाडेर चिनियाँ बाहिरिएका छन् । ‘रोजगारीका अवसर सिर्जना गर्न, सरकारले करबाट आम्दानी गर्न ठूला पूर्वाधारमा लगानी भित्र्याउनुपर्छ,’ उनी भन्छन्, ‘सानो लगानी गर्न हामी आफैं सक्षम छौं ।’

व्यवसायी खिम नेपालीका अनुसार पोखरा आउने चिनियाँ पर्यटकले एक हप्ता बिताउने गरेका छन् । ‘धेरै चिनियाँले अंग्रेजी नबुझ्ने भएकाले पनि चिनियाँ रेस्टुरेन्ट खोज्दै आउँछन्,’ उनले भने, ‘भाषाकै कारण अरू रेस्टुरेन्टलाई समस्या हुने गरेको छ ।’ पोखराका होटल, रेस्टुरेन्टमा चिनियाँ भाषा बुझ्ने कर्मचारी नहुँदा पर्यटकले झन्झट मान्ने गरेको उनले सुनाए । चिनियाँ भाषा बोल्ने ट्रेकिङ गाइडको पनि कमी भएको उनले बताए ।

पर्यटन व्यापार विस्तारकै लागि पोखरा र चीनका विभिन्न सहरबीच भगिनी सम्बन्ध पनि कायम भएका छन् । अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित भइसकेका सहरबाट विभिन्न विकास निर्माण तथा आर्थिक, भौतिक सहयोग भित्र्याउने उद्देश्यसाथ सम्बन्ध कायम गरिएको हो ।

अहिले पोखरा महानगरपालिका र चीनको कुनमिङ, गोन्जाओ र तिब्बतस्थित लिन्जी सहरबीच भगिनी सम्बन्ध भएर सहयोगसमेत आइसकेका छन् । पहिलोपल्ट लिन्जीसँग २०६४ मा सम्बन्ध गाँसिएको थियो । पोखराले ०६७ पुसमा कुनमिङ र ०७१ मंसिरमा गोन्जाओसँग भगिनी सम्बन्ध स्थापित गरेको थियो ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।