शिक्षिकाले दिएको स्पिरिट खाएपछि छात्राको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 शिक्षिकाले दिएको स्पिरिट खाएपछि छात्राको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जनकपुरधाम । शिक्षिकाले पानीको सट्टा दिएको स्पिरिट खाएपछि छात्राको मृत्यु भएको छ । पानीको सट्टा स्पिरिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

छात्राको मृत्यु भएको विरोधमा सिरहाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनी सिरहा नगरपालिका ११ भलुवाहीको रहेको प्रहरीले जनाएको छ ।

पुस २२ गते विद्यालयमा औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन् ।

छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् । उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो ।

उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको थियो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले बिहान साढे १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ । लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरुको माग छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।